कभर फोटो

विश्वभरबाट कोराना संक्रमित २ लाख २८ हजार ९ सय ७५ जना उपचार पछि निको

By Dhading News

April 04, 2020

काठमाडौं । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोविड १९ बाट संक्रमण भएका मध्ये अहिले सम्म २ लाख २८ हजार ९ सय ७५ जना उपचार पछि निको भएर घर फर्किएका छन ।

संसारभरका कोराना भाईरस संक्रमितहरुको अभिलेख सार्वजनिक गर्दै आएको वोल्डोमिटरको तथ्याङ्क अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ५९ हजार १ सय ९७ पुगेको छ। शनिबार बिहानको तथ्यांक अनुसार विश्वभर कुल १० लाख ९९ हजार ९ सय ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये २ लाख २८ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन्।

विश्वमा एकैदिन कोरोना भाइरस संक्रमित हुनेको संख्या साढे ८२ हजार भन्दा बढीमा भएको पाइएको छ। यस्तै भाइरसका कारण एकैदिन करिब ६ हजारको मृत्यु भएको छ।

हालसम्म सबैभन्दा बढी बिरामी र मृत्यु हुनेको संख्या अमेरिकामा देखिएको छ। अमेरिकामा शुक्रबार (हिजो) एकैदिन ३२ हजार ८८ जनामा कोरोनाको संक्रमण देखिएको थियो भने १ हजार ३ सय २० जनाको मृत्यु भएको छ। इटालीमा शुक्रबार थप ४ हजार ५ सय ८५ जनामा कोरोना भाइरस देखिएको छ। सोही दिन इटालीमा ७ सय ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

यस्तै स्पेनमा शुक्रबार ७ हजार १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ सय ५० जनाको मृत्यु भएको छ। जर्मनीमा शुक्रबार ६ हजार ३ सय ६५ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। सोही दिन जर्मनीमा कोरोना संक्रमणका कारण १ सय ६८ जनाले ज्यान गुमाएका छन्।

कोरोना सुरुवात भएको चीनमा भने शुक्रबार ३१ जनामा मात्र नयाँ संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ। फ्रान्समा ५ हजार २ सय ३३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। सोही दिन त्यहाँ १ हजार १ सय २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

इरानमा शुक्रबार कोरोनाका कारण १ सय ३४ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन्। बेलायतमा शुक्रबार नयाँ ४ हजार ४ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको छ । सोही दन बेलायतमा ६ सय ८४ जनाको मृत्यु भएको छ। टर्कीमा शुक्रबार कोरोना भाइरसको संक्रमणबाट ६९ जनाको मृत्यु हुनुका साथै थप २ हजार ७ सय ८६ जनामा संक्रमण देखिएको छ।

यस्तै स्वीट्जरल्याण्डमा शुक्रबार नयाँ ७ सय ७९ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ। सोही दिन त्यहाँ कोरोनाका कारण ५५ जनाले ज्यान गुमाएका छन्। शुक्रबार बेल्जियमा १ हजार ४ सय २२, नेदरल्याण्ड्समा १ हजार २६, क्यानाडामा १ हजार ९२, ब्राजिलमा १ हजार १ सय ५० जनामा कारोनाको संक्रमण देखिएको छ। सोही दिन कोरोना भाइरस संक्रमणका कारण बेल्जियममा १ सय ३२, नेदरल्याण्ड्समा १ सय ४८, क्यानडामा ३५ र ब्राजिलमा ३९ जनाको मृत्यु भएको छ। बाँकीको मृत्यु र बिरामी अन्य देशमा थपिएका हुन्।