धादिङ /प्रहरीले अभियुक्तसँग मिलेर आफूमाथि न्याय दिने अवसरबाट प्रहरीले वञ्चित गराएकोले न्यायको लागि प्रहरीले नै वातावरण नबनाउने अवस्था आएमा प्रहरी कार्यालय अगाडि नै एक पीडित महिलाले आत्महत्या गर्ने चेतावनी दिएकी छिन् ।
गजुरी गाविस-१, गजुरीबजारमा पसल व्यवसाय गर्दै आएकी एक महिलालाई बलात्कारको प्रयास गर्नेलाई अदालतको आदेशले असार २२ गते छुटेपछि आफूमाथि अन्याय भएको भन्दै कारबाहीको माग गर्दै साउन २४ गते प्रेसविज्ञप्ती प्रकाशन गरेकी छिन् ।
प्रहरीले आफूलाई अदालतमा उपस्थित हुनका लागि कुनै खबर नगरेको र अपराधीसँग मिलेर आफूमाथि अन्याय गरेको भन्दै पीडित महिलाले अदालतमा आफ्नो बयान पुनः दिने व्यवस्था मिलाइदिन र साक्षीहरुको कुरा सुन्ने अवस्था ल्याउन माग गरेकी छिन् ।
प्रहरीले सूचना लुकाएर पीडित महिलालाई अदालतमा चलिरहेको मुद्दाको बारेमा जानकारी नगराएका कारण न्याय नपाएको एक पीडित महिलाले बताएकी हुन् ।
जिल्ला अदालतले पीडित र उनको साक्षीलाई अदालतमा उपस्थित गराउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन गरेको र जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई लिखित अनुरोध गरेको भएपनि प्रहरीले पीडितलाई खबर नगरेको पीडितको आरोप छ ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई वैशाख १७ गते र साउन ४ गते २ पटक पीडितलाई झिकाउन पत्र लेखेको थियो । जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालयलाई तत्कालै खबर गरि पीडित महिला र उनको साक्षीलाई झिकाउन आवा मार्फत आदेश गरेको र गजुरी प्रहरीले पीडित फेला नपरेको बताएर पीडितलाई अदालतमा उपस्थित गराएको थिएन ।
पीडित महिलाको पत्रकार सम्मेलनमा दाबी गरिए अनुसार इलाका प्रहरी कार्यालय गजुरीको मुद्दा शाखामा काम गर्ने प्रहरी र अन्य प्रहरीले समेत उनलाई धेरै जसो दिन भेट्ने गरेको भएपनि अदालतमा चलेको मुद्दामा उपस्थित हुनका लागि आएको खबर भने अपराधीसँग मिलेर गुपचुप राखिएको हो ।
पीडितको अनुपस्थितिमा जिल्ला अदालतले साउन २२ गते पीडितले अदालतमा उपस्थित नभएको कारण अभियुक्तलाई छाडिदियो ।
गजुरी गाविस-१ का प्रदिप परियारले गजुरी बजारमा पसल गरेर बसेकी एक महिलालाई ०६९ मंसिर २३ गते बलात्कारको प्रयास गरेका थिए । पति विदेश गएका ती महिला राति शौचालय गएको बेला बलात्कारको प्रयास गरेका थिए । महिलाले प्रतिकार गर्ने क्रममा परियारले आक्रमण गर्दा पीडित महिला घाइते समेत भएकी थिइन् ।
आफूमाथी जबरजस्ती करणी प्रयास गरेका भन्दै महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकि थिइन् । प्रहरीले अभियुक्तलाई पक्राउ गरी अनुसन्धानपछि अदालतमा पेश गर्यो । सबै प्रकृया पूरा भएको र पीडित महिला घाइते अवस्थामा प्रहरी कार्यालयमा आएकी थिइन् जसले गर्दा जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो । सरकारवादी मुद्दा भएकोले जिल्ला अदालतले पीडित जाहेरवालालाई अदालतमा उपस्थित गराउन प्रहरीलाई पटकपटक आदेश दिएको देखिन्छ ।
घटनाका सम्बन्धमा डीएसपी अशोक सिंले प्रहरीले गर्नुपर्ने कार्य नगर्ने र आदेश नमान्नेलाई कारबाही गरिने बताए ।
इन्सेक अनलाइनबाट /सीताराम अधिकारी