कभर फोटो

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

By धादिङ न्यूज

June 01, 2020

 

बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् ।

भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ गाईरहेको हाइस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको अगैया स्थित सडक खण्डमा गम्भीर दुर्घटनामा परेको हो ।

मध्यरातमा भएको दुर्घटनामा परि सोमबार विहान सम्ममा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइते २१ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ । घाइते मध्य ५जनाको अवस्था गम्भीर रहेको बैदवारले बताउनुभयो ।

दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट घर जानका लागि आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान तर्फ पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राती सवा १२ बजे हाइस दुर्घटनामा परेको हो । मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ ।