कभर फोटो

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

By धादिङ न्यूज

July 05, 2020

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार पछिल्लो एक सातामा संयुक्त अरब इमिरेट्स (युएई) मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक एक गरि १३ जना नेपालीको मृत्यु भएको छ ।

समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ। हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ। शनिबार साँझसम्म विदेशमा २८ हजार ९१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने २५ हजार २२६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन्। एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन्।