कभर फोटो

भाखा नाघेको ऋण व्यवस्थापनका लागि तालिम

By धादिङ न्यूज

February 07, 2021

धादिङ, २५ माघ –  धादिङ जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका लागि भाखा नाघेको ऋण व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न भएको छ ।

धादिङ बचत तथा ऋण सहकारी संघको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा दुई दिन सम्म धादिङबेसीमा सञ्चालित तालिम आईतबार सम्पन्न भएको हो ।

जिल्लाका विभिन्न सहकारी संस्थाका २० जनाको सहभागिता रहेको तालिममा सहकारी संस्थाले प्रवाह गर्ने ऋणको गुणस्तर, ऋण लगानी प्रक्रिया, ऋणको भाखा नाघ्नुको कारणहरु, ऋण लगानी र असुली सम्बन्धी प्रचलित कानुनी व्यवस्था, ऋण असुली प्रकृया, संस्थाले ऋण व्यवस्थापनमा ध्यान दिनु पर्ने कुराहरु जस्ता विषयमा सहभागिहरुलाई जानकारी गरिएको थियो । तालिममा सहकारी संस्थाका व्यवस्थापकहरु, ऋण अधिकृतहरु, ऋण उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिममा नेफ्स्कुनका तालिम प्रशिक्षक गोकर्ण दुवाडीले सहजिकरण गर्नुभएको थियो ।

कोभिड १९ का कारण सहकारी संस्थाहरुमा भाखा नाघेको ऋण बढ्दै गएकाले संस्थाहरु जोखिममा पर्ने सम्भावना भएकाले भाखा नाघेको ऋण असुलीमा सहयोग गर्न तालिमको आयोजना गरिएको नेफ्स्कुन फिल्ड कार्यालय व्यवस्थापन समितिका सदस्य एवं बचत संघ धादिङका सचिव तुलसी प्रसाद अधिकारीले बताउनुभयो ।