कभर फोटो

‘गजुरी महोत्सव २०७७’ चैत १२ गतेदेखि २४ गतेसम्म हुने

By धादिङ न्यूज

March 02, 2021

धादिङ । आगामी चैत १२ गतेदेखि २४ गतेसम्म धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा ‘गजुरी महोत्सव २०७७’ हुने भएको छ ।

स्थानीय वस्तुको निकासी एवं जिल्लामा लगानी तथा प्रविधि भित्र्याउने उद्देश्यका साथ गजुरी महोत्सवको आयोजना गर्न लागिएको साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले जनाएको छ ।

मंगलबार धादिङको गजुरी बजार स्थित महाशक्ति होटलमा पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी गराइएको थियो ।

घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शन, हेलिकप्टरबाट दृश्य अवलोकन, विभिन्‍न खेल तथा मनोरञ्‍ज, कृषि प्रदर्शनीलगायतका रहने महोत्सव मूल आयोजक समितिका संयोजक सुमित श्रेष्ठले जानकारी दिए ।

गजुरी महोत्सव आर्थिक ब्यापार, वाणिज्य तथा उद्योगको प्रवद्र्धन र कृषि तथा पर्यटनको विकासका लागि आयोजना गरिएको आयोजकले बताएको छ । त्यसैगरि आयोजकले महोत्सवबाटै हालको सुस्त आर्थिक कारोबारलाई गतिशिल बनाउन समेत सहयोग पुर्‍याउने विश्वास लिएका छन् ।

मेलाबाट जिल्ला भित्र र विभिन्‍न जिल्लाहरुमा स्थानीयस्तरमा उत्पादित वस्तुहरुको समेत बजार प्रबर्द्धनका साथै सो को पहिचान गर्ने, विभिन्‍न प्रविधिलाई थप टेवा पुर्‍याउने, कृषिजन्य लघु, घरेलु तथा साना उद्योग प्रबर्द्धन गर्ने, उद्यमशीलता र प्रविधि हस्तान्तण गर्न सहयोग पुर्‍याउने,स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलुकमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाका साथै कृषिजन्य तथा हस्तकलाका सामानको व्यबसाय विस्तार एवं प्रबर्द्धनमा टेवा पुग्‍ने छ ।

महोत्सवमा जिल्लाको साना तथा मझौला उद्योगका उत्पादन त्यसमा पनि कृषि, दुग्धजन्य पदार्थको प्रदर्शनी, खाना महोत्सव, अटो, हस्ताकला, मेसेनरी, फुड एण्ड वेभरेज, साधारण गार्मेन्ट र कर्पोरेट लगायतका एक सय स्टलहरु रहने आयोजक समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।

महोत्सवबाट प्राप्त आम्दानी स्थानीय सरकारसँगको साझेदारीमा सामाजिक कार्यमा लगानी गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।