कभर फोटो

धादिङमा नेपाली कांग्रेसको दुई पालिकाको अधिवेशन असोज १७ गते

By धादिङ न्यूज

September 29, 2021

धादिङ न्यूज डेस्क

धादिङ १३ असोज । मतदान प्रकृयामा दुई खेमाबीच शुरु भएको विवाद समाधान हुन नसकेपछि अनिश्चिकालका लागि रोकिन पुगेको नेपाली कांग्रेस धादिङको नीलकण्ठ नगरपालिका समितिको अधिवेशन असोज १७ गते हुने भएको छ । यस अघि निर्वाचन सम्पन्न हुन नसकेको रुवभ्यिाली गाउँपालिकाको अधिबेशन पनि सोही दिन हुने भएको छ ।

नेपाली कांग्रेस धादिङको १४औं महाधिशेन जिल्ला निर्वाचन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै असोज ९ गते विशेष कारणबस स्थगित भएको रूवीभ्याली गाउँपालिका र नीलकण्ठ नगरपालिकाको अधिवेशन आगामी कात्तिक ४ गतेका लागि मिति तय गरेकोमा केन्द्रिय निर्वाचन समितिले मंगलबारनै अर्को सूचना जारी गर्दै  यस अघि हुन नसकेका निर्वाचन असोज १७  मा सम्पन्न गर्न निर्देशन दिएको छ । यस अघि जिल्ला निर्वाचन अधिकृत नन्दलाल महतोले सूचना जारी गर्दै स्थगित निर्वाचन कात्तिक ४ गते हुने जानकारी गराएका थिए । जिल्लाको सूचना जारी भएको केही बेरमै केन्द्रिय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले असोज १७ गते अधिबेशन सम्पन्न गर्ने परिपत्र जारी गरेका हुन ।

नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्र्तगत असोज ९ गते सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ नगरपालिकाको नीलकण्ठ माविमा शुरु भएको मतदान प्रकृया अघि बढेको केहीबेरमा दुई समूहगत विवाद बढेपछि अन्ततः निर्वाचन कार्यक्रम नै स्थगित भएको थियो। नीलकण्ठ नगरपालिकाको चुनावलाई पौडेल पक्ष र देउवा पक्ष दुवैले प्रतिष्ठाको विषय बनाएर एकले अर्को पक्षलाई अवरोध गर्न थालेपछि असोज ९ गतेको निर्वाचन स्थगित हुन पुगेको थियो।

असोज ९ गते जिल्लाका १३ मध्ये १० पालिकामा र १० गते नेत्रावती डवजोङ गाउँपालिकामा अधिवेशन सम्पन्न भएकोमा ९ पालिकामा पौडेल पक्ष र २ पालिकामा देउवा पक्षका सभापति विजयी भएका छन्। धादिङमा पौडेल पक्षको नेतृत्व पूर्व जिल्ला सभापति रामनाथ अधिकारी र देउवा पक्षको नेतृत्व पूर्वमन्त्री दिलमान पाख्रिनले गरेका छन्।

जिल्ला सभापतिमा पौडेल पक्षका अधिकारी र देउवा पक्षबाट नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाबीच प्रतिष्पर्धा हुने भएको छ। ढुंगाना १३औं अधिवेशनमा रमेश धमलाबाट सभापतिमा पराजित भएका थिए। वर्तमान सभापति धमलाको समर्थन अधिकारीलाई छ।

गाउँरनगरको अधिवेशन स्थगित भएका कारण असोज १२ गते हुने भनिएको प्रदेशसभा क्षेत्र, असोज १५ गते हुने भनिएको प्रतिनिधिसभा क्षेत्र र असोज १८ गते हुने भनिएको जिल्ला कार्यसमिति निर्वाचन अघि बढ्न नसक्ने भएपछि केन्द्रिय निर्वाचन समितिले पूर्व निर्धारित कार्यक्रम अनुसार अधिबेशन अघि बढाउन असोज १७ गते बाँकी रहेको निर्वाचन गर्न निर्देशन दिएको हो ।