कभर फोटो

धादिङबाट पाख्रिन काँग्रेसको पहिलो केन्द्रीय सदस्य

By धादिङ न्यूज

December 24, 2021

धादिङ, ९ पुस । पूर्वराज्य मन्त्री दिलमान पाख्रिन धादिङबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुने पहिलो व्यक्ति भएका छन् ।

नेपाली कांग्रेस स्थापनाको ७२ बर्ष पुगिसक्दा पनि राजधानीसंगै रहेको धादिङ जिल्लाले एक जना पनि केन्द्रिय सदस्य पाउन सकेको थिएन ।काँग्रेसको काठमाण्डौंमा सम्पन्न १४औं महाधिबेशनमा जनजाती तर्फबाट पाख्रिन केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । २०७० सालको संविधानसभामा समानुपातिक तर्फबाट सभासद बनेका पाख्रिन तत्कालिन शेरबहादुर देउवाको सरकारमा कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री भएका थिए ।

नेपाली काँग्रेस धादिङका संस्थापक एवम पूर्व सभापति दामन पाख्रिनका छोरा दिलमान २०७४ सालको संसदीय निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका थिए ।

बाम गठबन्धनका तर्फ बाट नेकपा एमालेका खेम लोहनीसंग उनी ६२५ मतले पराजित भएका थिए । लोहनीले ३६ हजार २ सय ५४ मत प्राप्त गरेका थिए भने पाख्रिनले ३५ हजार ६ सय १४ मत प्राप्त गरेका थिए ।

कांग्रेस केन्द्रीय सदस्यमा संस्थापन इतर पक्षबाट धादिङका रमेश धमला, कल्पना अधिकारी लगायतले उम्मेदवारी दिएपनि पराजित भएका छन् ।