कभर फोटो

हनुमानडाँडामा ट्रक पल्टिंदा दुई जनाको मृत्यु आठ जना घाईते

By धादिङ न्यूज

October 01, 2022

धादिङ,१५ असोज – धादिङको सदरमुकाम धादिङबेसीबाट सल्यानटार तर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन ।

असोज २५ गते देखि कात्तिक ५ गते सम्म हुन लागेको प्रथम त्रिपुरासुन्दरी कृषि पर्यटन, सांस्कृतिक तथा व्यापार महोत्सवका लागि स्टल तथा मनोरञ्जन स्थल निर्माण गर्ने सामान बोकेर जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक शनिवार दिउँसो नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै कुना तर्फ पल्टिएर दुर्घटना भएको हो । ओरालो बाटोमा अनियन्त्रित भएर ट्रक सडक कुनामा पल्टिएको प्रत्यक्षदर्शीले वताएका छन् । महोत्सवको स्टल बनाउन प्रयोग गरिने सामानमाथी बसेकाहरु दुर्घटनापछि पिच सडकमा पछारिएका कारण धेरै घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार मृत्युहुनेमा कपिलबस्तु जिल्ला भएका बर्ष ३५ जतिका इन्द्रजित पासी र सद्दाम अन्सारी रहेका छन् । दुर्घटनामा परि कपिलबस्तु जिल्लाका २२ बर्षीय साधु धोवी,५१ बर्षिय मंग्र पासी, २२ बर्षिय विनोद चमार, २८ बर्षिय तुलसीराम पासी,कञ्चनपुरका २४ बर्षिय भिमबहादुर चौधरी, मकवानपुरका ३९ बर्षिय सूर्यबहादुर थिङ र १८ बर्षिय अनिष थिङ र भारत मुजफ्फपुरका ३० बर्षका मोहम्मद जुबेद रहेका छन ।

घाइतेहरु मध्ये विनोद चमार र तुलसीराम पासीलाई धादिङ अस्पतालले थप उपचारको लागि काठमाडौ पठाएको छ । अन्य घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेका अस्पतालका सुचना अधिकारी विक्रम वि.क.ले जानकारी दिनुभयो ।