कभर फोटो

वातावरण संरक्षणको एजेण्डा लिएर चुनाव भिड्दै उत्तम कँडेल

By धादिङ न्यूज

November 05, 2022

धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा अहिले धेरैको चासो बढेको छ ।  यस क्षेत्र बाट नेकपा एमालेका जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठी र एक बर्ष अघि मात्रै एमाले छाडेका राजेन्द्र पाण्डे सत्ता गठवन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका छन् । २०४८ साल देखि २०७४ साल सम्म एमालेबाट चुनाव जितेका पाण्डे कुनै वेलाका आफ्नै चेला संग भिडन्त गर्दैछन् । गुरु र चेला बिचको यो भिडन्तलाई धेरैले निकै चासो दिएर हेरिरहेका छन् ।

पाण्डे र त्रिपाठी मात्रै होइन पाण्डेसंग ३० औं बर्ष एउटै कमिटीमा बसेर संगै काम गरेका जिल्लाका पुराना वामपन्थी नेता उत्तम कँडेल पनि स्वतन्त्रबाट माछा चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । एउटै टोलका वासिन्दा यी ३ जना बिच भईरहेको चुनावी प्रतिस्पर्धामा कँडेल एक्लै छन भने पाण्डे संग सत्ता गठवन्धनको साथ छ । धादिङका पुराना कम्युनिष्ट नेता कँडेल २०१६ साल पुस ९ गते वेनिघाटरोराङ ३ रिचोकटारमा  जन्मिएका हुन ।

आदर्श मावि गजुरीमा २०३२ सालमा स्ववियु सदस्य भएर राजनिति जिवनमा प्रवेश गरेका कँडेल २०३४ सालमा नेकपा मालेको टोल कमिटी सदस्य,२०३६ सालमा शंकरदेव क्याम्पस काठमाण्डौंमा पार्टीको क्याम्पस युवा मोर्चा सदस्य,२०३९ सालमा शंकरदेव क्याम्पसमा स्ववियुमा अखिलबाट कोषाध्यक्ष उम्मेदवार भएका थिए । अध्ययन संगै जिल्लामा पार्टीको संगठन बिस्तार र राजनैतिक गतिविधिमा सक्रिय रहेका कँडेलले कठिन मोडबाट राजनिति यात्राअघि बढाउँदै पढाईलाई निरन्तरता दिएर व्यवस्थापन बिषयमा स्नातक तहको पढाई पुरा गरेका थिए । बिद्यार्थी राजनितिमा सक्रिय हुंदै २०३८ सालमा धादिङको तत्कालिन मालेको दक्षिण क्षेत्र स्तरीय एरिया पार्टी एक्टिभिटिज ग्रुप(एपिएपि)को सदस्यको जिम्मेवारी सम्हालेका कँडेलले २०४२ सालमा कल्लेरी डुम्रिचौरमा अर्का कम्युनिष्ठ नेता जगन्नाथ नेपालको घरमा भएको माले पार्टीको जिल्ला स्तरीय बैठकबाट नेकपा मालेको जिल्ला सदस्यको जिम्मेवारी पाएका थिए । मालेको जिल्ला कमिटी सदस्यको जिम्मेवारी संगै २०४३ साल देखि पार्टीको पूर्णकालिन कार्यकर्ता बनेका कँडेल २०४३ देखि २०५४ सम्म धादिङको उत्तरी क्षेत्रको पार्टी संयोजन तथा संगठन निर्माणको जिम्मेवारीमा खटिएका थिए । उत्तरी क्षेत्रमा पार्टीको जिम्मेवारी सम्हालिरहेकै बेला कँडेललाई पार्टीले रसुवा र धादिङको सह इन्चार्जको जिम्मेवारी दिएर नुवाकोट सरुवा गरेको थियो । २०४५ –४६ मा रसुवा नुवाकोटको सह इन्चार्ज भएका कँडेलले २०४६ सालको जनआन्दोलनमा रसुवा नुवाकोटमा नेकपा मालेको नेत्तृत्व गरेका थिए । रसुवा नुवाकोटबाट धादिङ फर्किएपछि २०४६ सालमा नेकपा माले धादिङको जिल्ला कमिटी सचिवालय सदस्य बनेका उनी २०४७ मा माले र मास्र्सवादी मिलेर एमाले गठन पछि २०४९ सालमा पार्टीको पाँचौं महाधिबेशनमा जिल्लाबाट प्रतिनिधि बन्न सफल भएका थिए । २०५२ सालमा सुकुम्वासी समस्या समाधान आयोग धादिङको अध्यक्ष भएर १६ जना बास्तविक सुकुम्वासीलाई उनीहरुको नाममा जग्गाधनी पुर्जा बितरण गरेर चर्चामा आएका थिए । पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै धादिङ जिल्लामा कम्युनिष्ट बिचारधारालाई स्थापित गर्न निकै संघर्ष गरेका कँडेलले २०५२ देखि २०५४ सम्म श्री सगरमाथा दैनिकको समाचारदाताको रुपमा पत्रकारिता समेत काम गरेका थिए । साहित्य तथा इतिहासका बिषयमा अहिले पनि उनी कलम चलाउँदै आईरहेका छन् । पत्रकारितामा सक्रिय हुनु अघि पार्टीको जिम्मेवारी सम्हाल्दै भूमीगत ढंगबाट संगठन बिस्तारमा लाग्दै २०३७–२०३८ मा वागेश्वरी मावि बैरेनी र २०४० –२०४१ मा ज्योती मावि केवलपुरमा शिक्षकको रुपमा काम गरेका थिए । कँडेल २०५४ –२०५९ सम्म जिल्ला विकास समिति धादिङको निर्वाचित उप सभापति भएका थिए । त्यति बेला एमालेका अहिलेका केन्द्रिय सदस्य खेम प्रसाद लोहनी सभापति थिए । जिविस उपसभापतिको जिम्मेवारीमा रहेकै बेला वामदेव गौतम सिपि मैनाली लगायतका नेताले एमाले विभाजन गरेपछि कँडेल नेकपा मालेको धादिङ जिल्ला कमिटीको सचिव बनेका थिए । त्यति बेला कम्युनिष्ट पार्टीमा सचिवलाई जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी दिने गरिएको थियो । नेकपा माले एमालेमा विलय भएपछि फरक मत राख्दै एकता अभियानमा समावेश नभई पार्टीको जिम्मेवारीबाट बाहिरिएका कँडेल उप सभापतिको जिम्मेवारी सकिनै लाग्दा २०५८ सालमा भूमिगत पार्टी नेकपा माओवादी प्रवेश गर्नु भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि कँडेललाई डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ देखि ७२ सम्मका लागि कृषि सामग्री कम्पनी लिमिटेडको केन्द्रिय अध्यक्ष समेत बनाएको थियो । माओवादी पार्टीमा विभिन्न तहको जिम्मेवारी सम्हाल्दै ताम्सालिङ राज्य समितिको सचिवालय सदस्य, जिल्ला पार्टीको सहइन्चार्ज समेत भएका कँडेललाई संसदीय मोर्चामा जान रोक्नुका साथै पार्टी भित्र भूमिका विहिन बनाएपछि माओवादी पार्टी परित्याग गरि स्वतन्त्र प्रकृति र पर्याबरण संरक्षणका निम्ति सक्रय रहँदै आएका छन् । त्रिशूली नदी माथि भईरहेको अतिक्रमण, नदी तथा अन्य खोला नाला दोहन, बाताबरण प्रदुषण रोकथामका निम्ति जनचेतनामूलक अभियान सञ्चालन गर्न कँडेलको नेत्तृत्वमा त्रिशूली बचाउ अभियान साझा सञ्जाल गठन भई सञ्चालनमा छ । नदीको स्वच्छताका निम्ति सक्रिय कँडेलले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को उम्मेदवारी दिए माछा चिन्ह रोजेका छन् । मलेखुमा जन्मिएका कक्डेलले मलेखुको पहिचान बनेको माछालाई आफ्नो चुनाव चिन्ह मात्रै रोजेका छैनन् । पर्यावरण जोगिए मानिस जोगिने भन्दै गाउँ गाउँमा पुगेर मत मागिरहेका छन् । राजनिति संगै साहित्य,पत्रकारिता र पर्यावरण संरक्षणका बिषयमा रुची राख्ने कँडेलले ‘जोखिमका पाईला’ नामको युद्धकालिन संस्मरण उपन्यास प्रकाशित गरेका छन् । राजनैतिक गतिविधिबाट बाहिरिएपछि प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा सक्रिय हुंदै २०७० देखि ७२ साल सम्म प्रकृति मानव केन्द्रित जनअभियानको राष्ट्रिय संयोजकको जिम्मेवारी समेत सम्हालेका थिए । राजेन्द्र पाण्डे भन्दा पाँच बर्ष पछि धादिङको पार्टी गतिविधिमा प्रवेश गरेका र्नु कँडेलले पाण्डे संगै धेरै वटा कमिटीमा संगै काम गरेको पनि महत्वपूर्ण जिम्मेवारी पाउनबाट पाँडेले पटक पटक अवरोध गर्ने गरेको बताउँछन् । धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका मुख्य तीन जना उम्मेदवार मलेखु एउटै टोलका वासिन्दा हुन । तीनैजनाले सँगसँगै एउटै पार्टीमा आवद्ध रहेर लामो समय फरक फरक जिम्मेवारीका साथ राजनीति गरेको भएपनि हिजोका सहयात्रीहरु अहिले एउटै पदमा त्रिपक्षिय भिडन्तमा छन् ।

कँडेलले स्वतन्त्र उम्मेदवारी दिएसँगै पुराना दुई मित्रहरूको चुनावी भीडन्त थप रोचक बन्ने भएको छ । यो प्रतिस्पर्धामा पाण्डे र त्रिपाठीले राजनीतिक एजेन्डा उठाइरहँदा कँडेलले वातावरण संरक्षणको मुद्दालाई मुख्य एजेण्डा बनाएका छन् ।