कभर फोटो

राजेन्द्र पाण्डेले दिए मुख्यमन्त्री पदबाट राजीनामा

By Dhading News

December 23, 2022

धादिङ— वागमती प्रदेशको मुख्यमन्त्रीको पद नछाडि प्रतिनिधि सभा सदस्य पदको शपथ लिएको भन्दै चौतर्फी विरोध भएपछि बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । पाण्डेले शुक्रबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् ।

बिहीवार मुख्यमन्त्रीबाट राजिनामा नदिई संघीय सांसद पदमा सपथ लिएपछि पाण्डेको उक्त कदमको सर्बत्र आलोचना भएको थियो । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट धादिङ १ (१) वाट प्रदेश सभा सदस्यमा निर्वाचित पाण्डे नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादी तर्फ लागेर २०७८ कात्तिकमा वागमती प्रदेशको मुख्य मन्त्रीमा नियुक्त भएका थिए । पाण्डे भन्दा अघि नेकपा एमालेका अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल मुख्य मन्त्री बनेका थिए ।

धादिङ जिल्लाबाट २०४३ साल देखि निरन्तर चुनावमा सहभागी हुंदै आएका पाण्डे,२०४८,२०५१,२०५६,२०७०,२०७४ मा धादिङबाट सांसद पदमा विजयी भएका थिए । २०६४ मा भने पाण्डे माओवादीका नेता शालिकराम जमकट्टृेल संग संविधान सभा सदस्यमा पराजित भएका थिए । पाण्डे २०४३ सालका जनपक्षिय राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार बनेका थिए । जनपक्षिय उम्मेदवारमा पराजित पाण्डे २०४५ सालमा जिल्ला पञ्चायतको सभापतिमा विजयी भएका थिए । २०१३ साल जेठ २९ गते गजुरीमा जन्मिएका पाण्डे पूर्व स्थानीय विकास मन्त्री समेत हुन । उनी अहिले नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष छन् ।