कभर फोटो

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

By Dhading News

July 28, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता हुनुभएको छ । प्रचण्ड इटालीको भ्रमण सम्पन्न गरी अहिलेकेहिबेरअभि स्वदेश फर्किनुभएको हो । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँ दोहा हुँदै काठमाडौं फर्किनुभएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्नुभएको थियो । त्यस्तै रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्नुभएको थियो । त्यस्तै प्रचण्डले विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी)का प्रमुख एल्भारो लाइरोले बेग्ला–बेग्लै भेटवार्ता गर्नुभएको थियो ।

रोममा रहँदा प्रधानमन्त्री गैरआवासीय नेपाली सङ्घ इटालीले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको थियो । भ्रमणका दौरान प्रधानमन्त्रीले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गगर्नुभएको थियो । प्रधानमन्त्री नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी थिए।