काठमाडौं । पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ ।
बिहान कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको थियो। पहिरो पन्छाएर ९ बजेदेखि सडक खुलेको छ । रोकिएका गाडी सडक खुलेपछि गन्तव्यतर्फ लागेका छन् ।
त्यसअघि गएराती बन्द भएको सडक पहिरो हटाएपछि बिहान ३ बजेदेखि खुलेको थियो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ । संघीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।