काठमाडौं । पेट्रोल तथा डिजेलको मूल्य बढेको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज (अगस्ट १ तारिख) नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले बढेको छ । खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ।
नेपालमा साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू भइसकेको छ । यस आधारमा भारतबाट बढेर आएको मूल्य यहाँ पनि बढ्ने र घटेर आएको मूल्य घट्ने निगमले जनाएको छ ।
आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ ।