ब्रेकिङ समाचार

क्विन्टल सुन प्रकरणमा थप ४ चिनियाँ नागरिक अनुसन्धानको घेरामा

By Dhading News

August 03, 2023

काठमाडौं । बेल्जियम र काभ्रेको नागरिकता प्राप्त गरेका चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेसँगै टोखाको कृषि फार्ममा छापा मारिएपछि सय किलो सुन काण्डले राजनीतिक रंग बोक्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नै सयौं किलो सुन तस्करी भई विभिन्न ठाउँमा गाल्दै प्रशोधन गर्दै भारत र नेपालका बजारमा बिक्री वितरण गरेको र त्यसमा राजनीतिक संरक्षण रहेको पाउनथालिएको हो ।

राजनीतिक संरक्षण प्राप्त भएको पुष्टि हुनथालेपछि सांसदहरू संसद् बन्द गर्दै आरोप प्रत्यारोपमा उत्रिएका छन् । माओवादी केन्द्रका नेताले एमालेमाथि आरोप लगाउने र एमाले नेताले सत्ताधारी दलहरूमाथि आरोप लगाउनेक्रम बढेको छ । एमालेले सुन काण्डमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको संलग्नता रहेको बताइरहँदा माओवादीहरू भने झापाको गिरिबन्धु टि स्टेटको जग्गा काण्डका मतियारको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् । एमालेले उच्चस्तरीय राजनीतिक छानबिन समिति बनाउनुपर्ने माग गरिरहँदा माओवादी नेताहरू अहिले आवश्यक नभएको भन्दै आफ्ना नेता बचाउन खोजिरहेका छन् ।

यता, एमाले नेताहरूले भने समिति बनाएर आफ्ना नेताको संरक्षण गर्न संसद् नै बन्द गरेर समितिको माग गरिरहेको आशंका सार्वजनिक वृत्तमा गर्न थालिएको छ ।