मुख्य समाचार

काठमाडौं महानगरमा अब पानीपुरी, चटपटेलगायत बिक्री गर्न नपाइने

By धादिङ न्यूज

August 13, 2023

काठमाडौं। काठमाडौंमा बर्खाका बेला पानीपुरी, चटपटेलगायत बिक्री गर्न रोक लगाउने प्रस्ताव भएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीका अनुसार अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको हो।

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा खुल्ला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने प्रस्तावबारे छलफल भएको थियो।

पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको उनले बताए।

तरकारी र फलफूल सस्तोमा किनेर ल्याएर सडक किनारामा भाग लगाएर बेच्ने काम जनस्वास्थ्यका दृष्टिले जोखिमपूर्ण रहेको उनले बताए।

यसअघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड रहेको बताए।

यस्तै खुल्ला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन्।

बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन उनले निर्देशन दिएकी छन्।