मुख्य समाचार

शिक्षक जागिर खोसिएपछि होटलमा सफल

By Dhadingnews.com

August 23, 2013

केशव अधिकारी

धादिङ / १८ बर्षअघि खाली हात सदरमुकाम आएका धादिङका एक युवाले निरन्तर मेहनत गरेर अहिले पाँच करोड रुपैयाँमा स्तरीय होटल सञ्चालनमा ल्याएका छन् ।

सदरमुकाम धादिङबेसीमा पर्यटकस्तरको होटलको अभाव खड्किन नदिन आफूले पाँच करोड लगानीमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएको प्रवन्धक राजाराम सिलवाल बताउनुहुन्छ ।

धनीहरुले ठूला शहर र विदेशतिर लगानी गरेर उतै व्यबसाय सञ्चालन गर्ने क्रम बढिरहेको बेला १६ बर्षसम्म सदरमुकाममा सामान्य होटल चलाउँदै आएका सिलवालले बैङ्कबाट ऋण लिएर अत्याधुनिक सुविधासहितको होटल निर्माण गरेपछि दुई वर्षदेखि जनजीविका होटल सञ्चालनमा ल्याउनुभएको हो ।

१८ बर्षअघि अस्थायी शिक्षक पदको जागिर खोसिएपछि जीविकोपार्जनका लागि चैनपुर गाविसको सालवासबाट सदरमुकाम आइपुगेका सिलवालले १४ हजार रुपैयाँ ऋण खोजेर धादिङबेसीमा खाना खुवाउने सामान्य होटल शुरुवात गर्दाको विगतलाई सम्झनुभयो । जनजीविका नाम दिइएको सामान्य होटल १५ बर्षसम्म चलाएपछि केही लगानी बढाएर रेष्टुरेण्ट र लज चलाउन शुरु गरेका सिलवालले डेढ बर्षदेखि आफ्नै निजी भवन निर्माण गरी जिल्लाकै नमुना स्तरीय होटल सञ्चालनमा ल्याउनुभएको हो ।

होटलमा डाइनिङ हल, रेष्टुरेण्ट, सेमिनार हल, पार्किङ सुविधा, वेटिङग रुम, सहित सुविधा सम्पन्न २० वटा बेडरुम रहेको होटल प्रवन्धक सिलवाल बताउनुहुन्छ ।

होटलमा नेपाली, चाईनिज, ईण्डियन र साउथ इडिण्यन लगायत अन्य कण्टिनेन्टल परिकारको खाना पाइनुका साथै धादिङबेसी पुछारबजारमा होटलको छतबाट पूर्वमा सुनौलाबजारको भैरवी, खाल्टेको पात्ले र नीलकण्ठको जुरेथुमका साथै अन्य मनोरम दृष्यहरु हेर्न सकिने प्रबन्धक सिलवालले बताउनुभयो ।

पर्यटकको सम्भावना रहेको धादिङबेसीमा सुविधासम्पन्न होटलको आवश्यकतादेखि यो व्यवसाय शुरु गरेको र आफ्नो योजनालाई बैंक तथा वित्तिय संस्थाहरुले साथ दिएकोले योजना कार्यान्वयन गर्न सजिलो भएको सिलवालले बताउनुभयो ।