खेलकुद

महिला टी–२० शृङ्खलामा नेपालसँग हङकङ पराजित

By Dhading News

August 22, 2023

काठमाण्डाै – चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले हङकङलाई ६ विकेटले हराएकाे छ ।

आज मङ्गलवार मलेसियाको वायुमास ओभलमा भएकाे खेलमा हङकङले दिएकाे ८५ रनकाे सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका लागि सम्झना खड्काले नटआउट ३६ र पूजा महताेले १६ रन बनाइन् । बलिङतर्फ हङकङकी इक्रा सहर, मारिकाे हिल, मारयम बिबी र केरी चानले १/१ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे हङकङ १९ ओभर १ बलमा ८५ रन बनाउँदा अलआउट भयाे । हङकङका लागि केरी चानले ३४ र डाेराेथिया चानले १६ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता राना मगरले ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन दिँदै ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले २ विकेट लिइन् ।

शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।