ब्रेकिङ समाचार

ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार

By Dhading News

August 25, 2023

झापा ।  इलाका प्रहरी कार्यालय, झिलझिलेका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालमाथि आक्रमण भएको छ ।झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङया चोकमा तीनजनाको समूहले प्रहरी निरीक्षक कटवालमाथि धारिलो हतियार प्रहार गरेका हुन् । आक्रमणबाट कटवालको टाउकोमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, कटवाल नेतृत्वको टोलीले राजमार्गमा रोक्न खोज्दा उनीहरुले बन्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार तीनै जना युवाले मदिरा सेवन गरेका थिए ।बन्चरो प्रहारबाट घाइते भएका प्रहरी निरीक्षक कटुवालको उपचारको लागि बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचारार्थ लगिएको छ ।

प्रहरीलाई आक्रमण गर्नेहरु मे ४ प २७५१ नम्बरको मोटरसाइकलका चालक ३२ वर्षीय अरुण तामाङ, मोटरसाइकलको बीचमा बसेका ३३ वर्षीय लक्ष्मण टुडु र बञ्चरो हान्ने ३६ वर्षीय अशोक पोखरेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मीले बताए । (अनलाइनखबर)