ब्रेकिङ समाचार

माओवादी केन्द्रले जनतासँग विशेष रुपान्तरण अभियान भोलिदेखि गर्ने

By Dhading News

September 01, 2023

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भोलिदेखि सुरु गर्ने भएको छ ।

माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रिय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा शनिवार एकैसाथ सुरु गर्ने भएको हो ।

आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने जानकारी दिनुभयो । त्यसैगरी शनिबार नै दिउँसो १ बजे सबै वडाहरुले कार्यक्रम राखि अभियानको प्रारम्भ गर्ने बताउनुभयो ।

अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रिय कमिटी सदस्यहरुलाई कार्यक्षेत्र तोकिसकेको छ ।

माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ । अभियानको क्रममा त्यस्तै नविकरण र बिस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउने लक्ष्य राखिएको जनाइएको छ । अभियानको क्रममा कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने बताइएको छ ।