ब्रेकिङ समाचार

ललिता निवास प्रकरणमा संलग्न १८ जना प्रतिवादीको बयान पूरा

By Dhading News

September 01, 2023

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा हिनामिनामा संलग्न १८ जना प्रतिवादीको बयान पूरा भएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्म १८ प्रतिवादीले बयान दिएका हुन् । बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ जनालाई पक्राउ गरेको थियो ।

भदौ ११ बाट थुनामा रहेका प्रतिवादीहरुको बयान सुरु भएको थियो । आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुने छ । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भएका २१ जनालाई पनि प्रतिवादी कायम गरेको छ ।