मुख्य समाचार

बजेट अभावका कारण योजना तथा कार्यक्रमहरु सम्पन्न गर्न गाह्रो छ: सुरेन्द्रराज आचार्य

By Dhading News

September 03, 2023

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ ।

बाल सुधार गृह, वृद्धा आश्रम समेत बजेटकै अभावमा आवश्यक्ता अनुसार बनाउन नसकिने मन्त्री आचार्यको स्पष्टिकरण थियो ।

आज आइतबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै मन्त्री आचार्यले बाल विवाह, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यसँग सम्बन्धित समस्या पनि अरु मन्त्रालयसँग अन्तरसम्बन्धित भएकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चाहे अनुसार अघि बढाउन सक्ने अवस्था नरहेको तर्क गर्नुभयो ।

मन्त्री आचार्यले बाल सुधार गृहको क्षमता वृद्धि गर्ने काम आवश्यक भएपनि त्यसका लागि अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था नगरेको गुनासो समेत गर्नुभयो ।