हाम्रो पालिका

राष्ट्रियसभाको बैठक: नेम्वाङकाे निधनप्रति शोक प्रस्ताव पारित

By धादिङ न्यूज

September 14, 2023

काठमाण्डाै – राष्ट्रियसभाको आज बिहीवारको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य एवम् नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङकाे निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङको ७१ वर्षको उमेरमा गएकाे मङ्गलवार निधन भएको थियो । नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रूपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधानसभामार्फत नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भूमिका रहेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही असोज १२ गते शुक्रवार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।