कभर फोटो

धादिङका शिव सिलवाललाई ‘हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार

By धादिङ न्यूज

September 23, 2023

काठमाडौं- यस वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार धादिङ जिल्लामा कार्यरत टेलिभिजन पत्रकार शिव सिलवाल र रुकुमका टेलिभिजन पत्रकार महेश केसीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको एक लाख रुपैया राशिको पुरस्कार टेलिभिजन पत्रकारद्वय सिलवाल र केसी लाई प्रदान गरिने भएको हो ।

नेपाल टेलिभिजनका सिलवालको ‘पहिरोका कारण पृथ्वीराजमार्गमा यात्रुहरुले पाएको सास्ती’ र कान्तिपुर टेलिभिजनमा कार्यरत केसीको ‘विकासमा पछि परेको रुकुमको सिस्ने गाउँपालिका’  शीर्षकको समाचार सामग्रीले पुरस्कार जितेको हो । सिलवाल धादिङ जिल्लाबाट दुई दशक देखि निरन्तर टेलिभिजन पत्रकारितामा सकृय छन । सिलवालले दोश्रो पटक यो पुरस्कार प्राप्त गरेका हुन ।  २०७४ सालमा अनलाइन खबरका भरतवन्धु थापा र नेपाल टेलिभिजन धादिङका सम्वाददाता शिव सिलवाललाई संयुक्त रुपमा  यो पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कारका लागि विभिन्न सात टेलिभिजन च्यानलहरुबाट प्राप्त कुल ३५ वटा सामग्री सहितका आवेदन मध्येबाट पुरस्कृत छानिएको छनौट समितिले जनाएको छ ।

नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित एक लाख रुपैंया राशीको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०६४ सालदेखि प्रत्येक वर्ष असोज ७ गते साहसिक पत्रकारिता गर्ने पत्रकारलाई प्रदान गरिंदै आएको छ ।

“व्यक्तिगत सुरक्षा पहिलो प्राथमिकता” भन्ने नारा दिइएको यस वर्षको पुरस्कार आज नेपाल टेलिभिजनमा विशेष समारोहको आयोजना गरी वितरण गरिने छ ।