हाम्रो पालिका

धादिङबेसी स्थित कृष्णमन्दिरमा विहानै देखि घुईंचो

By Dhadingnews.com

August 28, 2013

सांघुटार/कृष्णाष्टमीको अवसर पारेर धादिङबेसी सांघुटारमा रहेको कृष्णमन्दिरमा  मेला भर्न  विहानै देखि  दर्शनार्थीको घुईंचो लागेको छ । यसैगरी सुगमटोल स्थित राधाकृष्णमन्दिरमा पनि दर्शनार्थीको घुंईचो लागिरहेको छ । यि दुवै मन्दिरमा बुधबार दिनभर धामिर्क प्रवचन, पूजापाठ गर्ने कार्यक्रम रहेको बताईएको छ ।

अन्याय, अत्याचार र आसुरी प्रवृत्तिवाट प्राणीहरुलाई संरक्षण प्रदान गर्न भगवान विष्णुले लिएका १० अवतारमध्ये आठौं अवतार मानिएका श्रीकृष्ण जन्मेको आजको रातलाई मोहरात्री पनि भन्ने गरिन्छ । आजको दिनले दानवी प्रवृत्तिवाट समाजलाई संरक्षण प्रदान गर्न भगवान श्रीकृष्ण कंसरुपी राक्षसी प्रवृत्तिकोे अन्त्य गरी समाजलाई शान्ति र सुव्यवस्था प्रदान गर्न मार्गदर्शन दिएको जनविश्वास छ । यस्तै महाभारतमा कौरवरुपी अन्यायी पक्षसंग जुधेर समाज उपयोगी काम गर्न तथा परोपकारमा लाग्न पनि यो दिनले प्रेरणा दिने विश्वास गरिन्छ । कृष्णाष्टमीको अवसर पारेर धादिङबेसी सांघुटारमा लागिरेहको मेला अवलोकन गर्न धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल लगायतका सरकारी अधिकारीहरु पनि कृष्णमन्दिर पुग्नु भएको छ । जिल्लाका अन्य स्थानमा रहेका कृष्ण मन्दिरहरुमा पनि विहानै देखि दर्शनार्थीहरुको घुंइचो लागिरहेको धादिङ न्युज डट कमका स्थानीय प्रतिनिधिहरुले वताएका छन ।