राजनीति

जसपाले आजदेखि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने

By धादिङ न्यूज

September 24, 2023

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

जसपा, नेपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रतिनिधि जुम एपमार्फत अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतलेलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, पार्टीका राजनीतिक समिति सदस्यद्वय आङकाजी शेर्पा र खगेन्द्र माखिमले विधानबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

कार्यक्रमको आयोजक पार्टी सम्बद्ध प्रवास विशेष प्रदेश समिति रहेको छ । जसपाको अमेरिका, बेलायत, इजरायल, थाइल्याण्ड, पोर्चुगल, युएई, कतार, कुवेत, हङ्कङ, बहराइनलगायतका मुलुकमा प्रवास सङ्गठन रहेको बस्नेतले बताउनुभयो ।