राजनीति

चाडपर्वमा कालोबजारी गर्नेलाई कडा कारबाही गरिने

By धादिङ न्यूज

October 03, 2023

काठमाडौं । सरकारले चाडपर्वको समयमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै बिक्री नगर्न उद्योगी व्यवसायीहरूको ध्यानाकर्षण गराएको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजारमा कृत्रिम अभाव सिर्जना नगर्न र कालोबजारी नगर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेको हो । सरकारले कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ । सरकारले हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा कृत्रिम अभाव र कालोबजारीको सूचना दिन पनि आग्रह गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले उपभोग्य वस्तुको बिक्रीसँगै सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो ।

बैठकले विशेष अदालतसम्बन्धी नियमावली २०८० स्वीकृत गर्ने, व्यवस्थापन तथा नियमन विधेयक २०८० सङ्घीय सरकारमा पेस गर्न स्वीकृति दिने, शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पनि सङ्घीय सरकारमा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।