कभर फोटो

बैंक व्यवस्थापनको टर्चर सहन नसकेपछि एनआईएमबिका ब्रान्च म्यानेजर त्रिशूलीमा हेलिए

By धादिङ न्यूज

October 05, 2023

१८ असोज ,२०८०

धादिङ। व्यवस्थापनको ‘टर्चर’ थेग्न नसकेपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा प्रमुख निराजन देवकोटाले आत्महत्या रोजेका छन् । जागिर छाड्न दिएको निवेदन स्विकृत गर्नुको साटो व्यवस्थापन पक्षले अनावश्यक टर्चर दिएर सताएपछि सामाजिक रुपमा आफ्नो वदनाम भएको निष्कर्षमा पुगेका नेपाल इनभेष्टमेन्ट मेगा बैक हेटौंडाका ब्रान्च म्यानेजर देवकोटा  त्रिशूलीमा हेलिएर बेपत्ता  छन् ।

हेटौंडा उपमहानगरपालिका–२ चौकीटोलका नारायणप्रसाद देवकोटाका ३८ वर्षीय छोरा निराजन ले तत्कालीन मेगा बैंकमा ७ वर्ष र प्रभु बैंकलगायत वित्तीय संस्थामा गरी करिब १८ वर्ष बैंकिङ क्षेत्रमा बिताएका थिए।

उनै ३८ वर्षीय देवकोटा असोज १५ साँझ साढे ६ बजे धादिङ घाटबेसीस्थित पुलबाट त्रिशूली नदीमा हाम फालेर वेपत्ता भएको प्रहरीले जनाएको छ। धादिङ प्रहरीका अनुसार उनको खोजी कार्य जारी छ। अहिलेसम्म उनलाई भेट्टाउन सकिएको छैन। उनले चढ्ने मोटरसाइकल पुलमै रोकिएको अवस्थामा भेटिएको थियो ।

देवकोटाका बुबा नारायणप्रसाद राष्ट्रिय सहकारी दुग्ध विकास संघका अध्यक्ष र सहकारी अभियन्ता हुन्। हेटौंडाका व्यावसायिक घरनामध्ये एक मानिएका देवकोटाका भाइ अस्ट्रेलिया बस्छन्।  देवकोटाको हेटौडामा आफ्नै लगानीमा दुई होटल सञ्चालनमा छन्।

तत्कालीन टुरिज्म डेभलमेन्ट बैंकले सञ्चालन गरेको पारिजातपथ शाखा मेगाले प्राप्ति गरेपछि देवकोटा त्यहाँको प्रमुख थिए। मेगा बैंकमा अधिकृत तहबाट जागिर सुरु गरी सहायक प्रबन्धक तहसम्म पुगेका देवकोटा तत्कालीन मेगा बैंक हेटौडा पारिजातपथ शाखामा चार वर्ष प्रमुखको जिम्मेवारी सम्हालेका  थिए। त्यसबेला मेगा बैंकका शाखामध्ये उत्कृष्ट शाखा र उत्कृष्ट कर्मचारीको पुरस्कार पाएका शाखा प्रमुख देवकोटाले एक महिनाअघि जागिरबाट राजीनामा दिएर स्वीकृतिको पर्खाइमा थिए।

बैंकको जागिर छाडेर भाइसँगै २/४ महिना अस्ट्रेलिया घुमेर आउने योजना बनाएका देवकोटाले गत भदौ ३ गते नै जागिरबाट राजीनामा दिएका थिए। बैंक कर्मचारी नियमावलीअनुसार उनको राजीनामा असोज ३ सम्म स्वीकृत भइसक्नुपर्ने थियो। तर, बैंकले उनको राजीनामा स्वीकृत नगरी अनुसन्धानका नाममा अनावश्यक दुःख दिँदै काठमाडौं बोलाएर पटक/पटक सोधपुछका नाममा मानसिक यातना दिएको उनका नजिकका साथीहरु बताउँछन् ।

व्यवस्थापनले दिएको मानसिकसँगै अन्य प्रकारको तनाव थेग्न नसकेर उनले राजीनामा दिएको अर्का सहकर्मी बताउँछन्। देवकोटाले काठमाडौं आउँदा आफ्ना सहकर्मीहरूसँग राजीनामा स्वीकृत भएपछि अस्ट्रेलिया जाने, २/४ महिना रिफ्रेस भएर आएपछि पारिवारिक व्यवसाय सम्हाल्ने योजना सुनाएका थिए।

बैंक व्यवस्थापनले उनको राजीनामा स्वीकृत गर्न असोज दोस्रो साता अन्तिम अन्तर्वार्ता र बुझबुझारथ पनि गराएको थियो। तर, राजीनामा स्वीकृत नगरी हेटौंडाका स्थानीय र वर्षौं घरपायक जागिर खाएका देवकोटालाई केन्द्रीय कार्यालयमाको जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको थियो। राजीनामा स्वीकृतिका लागि उनलाई अन्तर्वार्तामा बोलाएर बुझबुझारथसमेत गरिसकेपछि पनि बैंकले अनौपचारिक राजीनामा स्वीकृत नभएको जानकारी असोज १०गते बिहान पठाएको थियो।

असोज १०गते काठमाडौं आएर ११ गते हेटौंडा फर्किएका थिए। ‘उहाँको राजीनामा के कारणले स्वीकृत गरिएन, त्यो इमेलमार्फत औपचारिकरूपमा अफिसले पठाउनुपर्ने हो। तर, मोबाइलमा एसएमएस पठाएर राजीनामा स्वीकृत नभएको जानकारी गराएर हेड अफिस बोलाएर रिस्क डिर्पाटमेन्टमा सरुवा आउनु भनियो,’ देवकोटाका एक सहकर्मीले भने, ‘इज्जत प्रतिष्ठामा रहेको व्यक्तिलाई अनेकौं झुटा लान्छना लगाउँदा उसको आत्मसम्मानमा ठेस पुग्दाको परिणाम हो उनले त्रिशूलीमा हाम फाल्नु। यसरी आत्महत्यासम्म गर्न दुरुत्साहन गराउने व्यवस्थापनप्रति हामी सबै बैंकर विरोधमा छौं।’

बैंक व्यवस्थापनले उनलाई असोज १५ गते आफ्नो शाखाका कर्जा म्यानेजरलाई लिएर काठमाडौं हेड अफिस आउन निर्देशन दिएको थियो। देवकोटा हेटौडाबाट दक्षिणकालीको बाटो हुँदै काठमाडौंआएका थिए।

देवकोटानिकट स्रोतका अनुसार उनले ‘सुसाइड नोट’ समेत लेखेका छन्। उनले घरमै एउटा डायरीमा ‘आफूलाई भइरहेको समस्याबारे र बैंक व्यवस्थापनले दिएको टर्चरले मानसिक रोगको शिकार बन्दै गएको हुँदा आत्महत्याको सोचाइ आउन थालेको’ लेखेको स्रोतको भनाइ छ।

‘देवकोटाजीलाई मेगा मर्जरले नै आत्महत्यासम्म पुर्‍याएको हो। उहाँले गल्ती नै गर्नुभएको थियो भने पनि बैंकिङ कसुर ऐनअन्तर्गत रहेर कानुनी व्यवस्थाअनुसार कारबाही गर्ने ठाँउ थियो,’ ती सहकर्मीले भने, ‘तर, यसरी कुनै कारण नदेखाइ राजीनामा अस्वीकार गरेर मानसिक तनाव दिने काम गर्नु हुँदैन थियो।

तत्कालीन मेगा बैंक हेटौंडा शाखाबाट प्रवाहित कर्जाका विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक केन्द्रीय कार्यलयबाट पटक/पटक अनुसन्धानको ‘टर्चर’ थेग्न नसकेपछि देवकोटाले चौथोपटक स्पष्टीकरण दिएर फर्किने क्रममा त्रिशूलीमा हाम फालेका थिए।