खेलकुद

एकदिवसीय विश्व कप क्रिकेट आजदेखि शुरु हुँदै

By Dhading News

October 05, 2023

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । भारतको नरेन्द्र मोदी स्टेडियममा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ ।

यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्ने  क्षमता छ । भारतले उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कला, कौशल र प्रविधिको प्रयोग गर्नेछ । विश्वकपको उद्घाटन खेलमा नेपाली समय अनुसार आज दिउँसो सवा २ बजे इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दैछन् ।

इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो । यो विश्वकपका खेलहरू भारतका १० वटा सहर–अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्लोरमा हुनेछन् ।

विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बङ्लादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज भने यस पटक छनोट हुन सकेन । आजदेखि शुरु हुने विश्वकप आउँदो नोभेम्बर १९ तारिखसम्म ४६ दिन चल्नेछ ।

राउन्ड रोबिनका आधारमा प्रतियोगिता हुने भएकाले सबै देशले एक अर्कासँग खेल्नेछन् । प्रतियोगितामा १० वटा टोलीबीच ४८ खेल हुनेछ । शीर्ष चारमा पर्ने देश सेमिफाइनलमा पुग्नेछन् । सन् १९७५ देखि शुरु भएको एकदिवसीय विश्वकपको यो १३ औँ संस्करण हो । यस पटकको विजेताले ४० लाख डलर, उपविजेताले २० लाख डलर र सेमिफाइनलमा पराजित हुनेले ८ लाख डलर पुरस्कार पाउनेछन् ।

एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टोली अस्ट्रेलिया हो । अस्ट्रेलियाले पाँच पटक विश्व कप जितेको छ । भारत र वेस्ट इन्डिजले समान दुई/दुई पटक तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले एक/एक पटक उपाधि जितेका छन् ।