खेलकुद

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

By Dhading News

October 14, 2023

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबिचको खेल आज हुँदैछ ।

खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ । भारत र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार, दिउँसो सवा २ बजे सुरु हुनेछ ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ । दुवै देशले पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । दुवै देशको विश्वकपमा यो १३ औँ सहभागिता हो । भारत र पाकिस्तान दुवै एकदिवसीय विश्वकपको पूर्वविजेता पनि हुन् ।

भारतले दुई र पाकिस्तानले एकपटक विश्वकपको उपाधि उचालेका छन् । भारतले सन् १९८३ र सन् २०११ मा विश्वकप जितेको थियो । पाकिस्तानी टोलीले भने सन् १९९२ मा विश्वकपको उपाधि चुमेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा पनि यी दुई टोली नै पहिलो र दोस्रो स्थानमा छन् । भारत आईसीसी वरीयताको पहिलो स्थानमा आसीन छ भने पाकिस्तान वरीयताको दोस्रो स्थानमा छ ।

१३औँ विश्वकप सुरु हुनुअघि पाकिस्तानलाई नै पछि पार्दै भारत एकदिवसीय वरीयताको पहिलो स्थानमा उक्लिएको हो । जारी विश्वकपमा हालसम्म यी दुवै राष्ट्रले दुई-दुई खेल खेलिसकेका छन् । दुवै खेलमा दुवै टोलीले शतप्रतिशत नतिजा निकालेका छन् ।