काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पर्सि आगामी बुधवार प्रदेशसभाबाट विश्वासको मत लिनु हुने भएको छ । अस्ति शनिवार नियुक्त भई हिजो आइतवार मात्रै शपथ लिनुभएका मुख्यमन्त्री कार्कीले हतार हतार आउँदो बुधवार नै विश्वासको मत लिन लाग्नुभएको हो ।
कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यो धाराअनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण उहाँले बुधवार नै विश्वासको मत लिन लाग्नुभएको हो ।
कांग्रेस नेता कार्कीले पार्टीमा विद्रोह गरेर एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । उहाँले एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।