खेलकुद

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा यूएईविरुद्ध नेपालको जित

By Dhading News

October 18, 2023

काठमाडौं। नेपालले यूएईविरुद्ध शानदार जित निकालेको छ। आज मुलपानी क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो। नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले। उनले ४० बलमा ५ चौकाको मदतले नेपालका लागि सर्वाधिक ५१ रन बनाए ।

पौडेलसँग उत्कृष्ट साझोदारी गरेका दिपेन्द्र सिंह ऐरीले समेत ३४ रन बनाए। ओपनर कुशल भुर्तेल १४ र आसिफ शेखले २३ रन बनाएको नेपालको इनिङ्समा कुशल मल्ल ११ रनमा आउट भएका थिए ।यूएईका अल नासिर र निलांश केसवानीले समान एक एक विकेट हात पारेका थिए ।

पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४०रन बनाएको थियो। नेपालका लागि करण केसीले ३ विकेट हात पारेका थिए। गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक एक विकेट हात पारे।

टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो। सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन्। नेपालले सिरिजको दोस्रो खेलमा भोलि हङकङसँग खेल्नेछ।