खेलकुद

एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाको कीर्तिमानी जित

By Dhading News

October 26, 2023

काठमाण्डाै – अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ ।

हिजो भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो । यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो । जितका लागि ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट भयो । उसले जम्मा ९० रन जोड्यो ।

यो खेलमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । त्यस्तै, मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सले समान एक/एक विकेट लिए । नेदरल्यान्ड्सका विक्रमाजित सिंहले सर्वाधिक २५ रन बनाए । त्यसअघि ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकमा अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो ।

म्याक्सवेलले विश्व कप इतिहासमा सबैभन्दा छिटो ४० बलमा शतक बनाए । उनले ४४ बलमा १ सय ६ रन जोडे । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले पनि शतकीय पारी खेले । जितसँगै अस्ट्रेलियाको ६ अङ्क भएको छ । अस्ट्रेलिया अङ्क तालिकाको चौथो स्थानमा छ । १० अङ्कसहित भारत शीर्षस्थानमा छ ।

समान ८ अङ्ककासाथ दक्षिण अफ्रिका दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा छन् । आज इङ्ल्यान्ड र श्रीलंकाबीच खेल हुनेछ ।