ब्रेकिङ समाचार

दशैँ मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

By Dhading News

October 27, 2023

काठमाण्डाै – दशैँ मनाउन काठमाण्डाै उपत्यका बाहिर गएकाहरू फर्कन थालेपछि काठमाण्डाै भित्रिने नाकामा भीड देखिन थालेको छ ।

उपत्यका भित्रिने नाकामा गाडीकाे चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ ।

नागढुङ्गा, साँगा नाकामा गाडीकाे लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ । दशैँकाे नवमी र दशमीका दिन काठमाण्डाै उपत्यकामा यातायात शून्यजस्तै बनेका थिए । नाकामा गाडीकाे चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

यस वर्ष दशैँकाे अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । उपत्यकाभित्र चल्ने गाडीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक गाडी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ ।

यसैबीच दशैँ बिदामा बन्द भएका सरकारी कार्यालय आज शुक्रवारदेखि खुल्दैछ । रासस