खेलकुद

सिंगापुरलाई ८ विकेटले हराउँदै नेपाल विजयी

By Dhading News

October 30, 2023

काठमाडौं । आइसिसी टी ट्वान्टी विश्वकप एसिया छनोटमा सिंगापुरलाई ८ विकेटले हराउँदै नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो।

सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ७४ रन बनाए। ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे।

आसिफ शेख २७ रनमा आउट हुँदा कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा अविजित रहे । यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो।

पहिलो ओभरको दोस्रो बलमै कप्तान अरत्रा दत्तलाई गुमाएको सिंगापुरले आक्रामक सुरुवात गरेको थियो। ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्काको मद्दतमा ४६ रन जोडे पनि अन्य ब्याट्सम्यानले भने राम्रो खेल्न सकेनन्।

सिंगापुरका आर्यविर चौधरीले ३७ रन बनाए भने मनप्रित सिंहले २४ रनको योगदान गरे। नेपालका लागि अविनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २–२ विकेट लिए। अर्को खेलमा बहराइनले यूएईलाई १३६ रनको लक्ष्य दिएको छ।

मूलपानी मैदानमा जारी खेलमा टस हारेको बहराइनले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो।