कभर फोटो

सुकमायाको हत्या आरोपमा मंगल गुरुङ पुर्पक्षका लागि कारागार चलान

By Dhading News

October 30, 2023

धादिङ -१३ कात्तिक २०८०। एक महिना अघि धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडानम्बर ४ हजारेकी ७० वर्षीया वृद्धा सुकमाया गुरुङको हत्या गरेको आरोपमा पक्राउ परेका मंगल गुरुङलाई जिल्ला अदालतको आदेश पछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

धादिङ जिल्ला अदालतको थुनछेक आदेशले प्रतिवादी गुरुङलाई पुर्पक्षका लागि कारागार पठाएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार टाउको, घुच्चुक, अनुहारको बायाँ भाग, गर्धनको बायाँ भाग र शरीरका विभिन्न भागसमेतमा पटक–पटक धारिलो हरियार प्रहार गरी १३ असोजमा सुकमायाको निर्ममतापूर्वक हत्या भएको थियो। हत्या लगत्तै मंगललाई पक्राउ गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको थियो । आरोपित मंगल सुकमायाका भतिजा नाताका व्यक्ति हुन ।

नेत्रावती डबजोङ गाउँपालिका– ४ हजारेस्थित घरनजिकैबाट गोठमा लुकिछिपी बसेको अवस्थामा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। सोधपुछ गर्दा गुरुङले धारिलो हतियार खुर्पा प्रहरा गरी सुकमायालाई कर्तव्य गरी मारेको स्वीकार गरेको एसपी मिश्रले बताए। दुई पक्ष बिचको व्यक्तिगत रिसइवी, गाली गलौज, झैझगडाका कारण सुकमायाको ज्यान गएको थियो ।