खेलकुद

सानदार जित हात पार्दै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश

By Dhading News

October 31, 2023

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।

त्यसअघि अविनाश बोहराले ४ विकेट लिँदा मलेसियाले ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका सइद अजिजले सर्वाधिक ६८ रन बनाएका थिए ।

नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टिम ओमान बनेको छ । ओमानले मंगलबार बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएका छन् । बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा हुनेछ ।