कभर फोटो

जाजरकोट र रुकुम पश्चिमको भुकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते

By धादिङ न्यूज

November 04, 2023

धादिङ न्यूज /२०८० कार्तिक १८ गते

धादिङ । कात्तिक १७ गते शुक्रवार मध्यरातमा आएको भूकम्पका कारण पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा अहिले सम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । ोज र उद्धार कार्य अझै पनि जारी रहेको छ ।

गृह मन्त्रालयले दिएको जानकारी भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

यसै गरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीनरतीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

शुक्रवार मध्य राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ । भुकम्पको धक्का राजधानी काठमाण्डौं आसपासका जिल्लाहरुका साथै छिमेकी देश भारतको नयाँ दिल्ली सम्म पुगेको थियो ।