मुख्य समाचार

१३ सय माला र २ क्विन्टल खुद्रा फूल हङकङ निर्यात

By Dhading News

November 10, 2023

चितवन – चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय वटा माला र दुई क्विन्टल खुद्रा फूल बिहीवार हङकङ पठाइएको हो ।

तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिनुभयो । ‘आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात गरेका छौँ’, बास्तोलाले भन्नुभयो, ‘चितवनबाट व्यावसायिक रूपमा फूल विदेश निर्यात भएको पहिलो पटक हो ।’ उहाँका अनुसार तीन लाख रुपैयाँ बराबरको माला निर्यात भएको छ ।

उहाँले अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताउनुभयो । ‘अहिले हङकङ निर्यात गरेका छौँ’, उहाँले भन्नुभयो, ‘बिस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।’

विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा अहिले विदेशमा पठाएको किसान अमित बास्तोलाले बताउनुभयो । ‘हामीले गएको वर्षदेखि १२ महिना नै फूलखेती गरेका छौँ । माघमा उत्पादन हुने गरी १० कट्ठामा लगाएका छौँ’, उहाँले भन्नुभयो, ‘चितवनमा फूलखेतीको सम्भावना राम्रो छ ।’

तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गर्नुभएको छ । फूलखेतीबाट यस वर्ष १२ हजार माला र आठ क्विन्टल फूलको थुङ्गा उत्पादन हुने उहाँहरूको अनुमान छ । यसबाट १५ लाख रुपैयाँ आम्दानी हुने अमितले बताउनुभयो । बजार भयो भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उहाँको भनाइ छ । ‘अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ’, उहाँले भन्नुभयो, ‘फूलखेतीमा ५० प्रतिशत नाफा हुन्छ ।’ उहाँहरूले फूलखेती शुरु गरेको चार वर्ष भयो । कोरोना माहामारीपछि फूलखेती शुरु गर्नुभएका तीन दाजुभाइले जग्गा भाडामा लिनुभएको छ ।

भारतको कोलकातादेखि एक लाख रुपैयाँ बराबरको बिउ ल्याएर तीन बिघामा खेती शुरु गर्नुभएका उहाँहरूले सयपत्रीका दुई जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गर्नुभएको हो । कात्तिक २४ गते राति काठमाण्डौबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिनुभयो । हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उहाँले बताउनुभयो ।

‘म विदेशमा च्याउ निर्यात गर्दै आएको छु । त्यस क्रममा तिहारमा दिदीबहिनीले सयपत्री फूलको माग गरेको हुँदा लैजान लागेको हुँ’, उहाँले भन्नुभयो, ‘तिहारमा नेपाली समुदाय भएको क्षेत्र सिङ्गापुर, मलेसिया, दुबई र कतारबाट समेत सयपत्री फूल र मालाको माग आएको छ ।’

फूल निर्यात गर्दा खासै फाइदा नहुने भए पनि किसानको प्रोत्साहन गर्नका लागि निर्यात गरिएको उहाँको भनाइ छ । यहाँबाट ‘आइसबक्स’ मा ‘प्रिकुलिङ’ गरेर जहाजमार्फत फूल विदेश पठाउने उहाँले बताउनुभयो ।

चितवनमा यस वर्ष तिहारको समयमा फूलखेती गर्ने किसान बढेका छन् । कालिका नगरपालिकाले किसानको प्रोत्साहनका लागि बिरुवामा अनुदानसमेत दिएको मेयर विनोद रेग्मीले जानकारी दिनुभयो । ‘यहाँको फूल हङकङ निर्यात हुनु हाम्रा लागि खुशीको कुरा हो’, उहाँले भन्नुभयो, ‘किसानलाई प्रोत्साहन दिने कुरालाई निरन्तरता दिन्छौँ ।’

नगरपालिकाले उत्पादन र आयआर्जनलाई जोडेर नीति निर्माण गरेको मेयर रेग्मीले बताउनुभयो । ‘गएको आर्थिक वर्षदेखि फूलखेती प्रवर्द्धन गर्न बिरुवामा अनुदान दिने गरेका छौँ । एउटा बिरुवा उत्पादन गर्न साढे दुई रुपैयाँ लाग्दो रहेछ । त्यसमा ५० प्रतिशत अनुदान दिइएको छ’, उहाँले भन्नुभयो । आउँदो वर्षदेखि अन्य बालीलाई जस्तै फूलखेतीलाई प्रोत्साहन गर्ने उहाँले बताउनुभयो ।

चितवनमा ५० बिघामा फूलखेती भएको छ । चितवनमा तिहारका लागि फूलखेती गर्ने झन्डै एक सय जनाको हाराहारीमा किसान छन् । रासस