मुख्य समाचार

मुगुको छायाँनाथमा अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ

By Dhading News

November 10, 2023

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छ ।

छायाँनाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।

कामी र बुढाले गएकाे वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको मेयर विष्णुकुमार भामले जानकारी दिनुभयो ।

‘यस्तो प्रोत्साहनले समाजमा जातीय विभेद कम गर्न सहयोग पुर्याउँछ’, मेयर भामले भन्नुभयाे– ‘यस्तो कार्यक्रम देशका अन्य पालिकाले पनि ल्याउन जरुरी छ ।’   रासस