काठमाडौं। दाङमा गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–७ हर्नियाका जुगारु चौधरीलाई गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना लगत्तै प्रहरीले एकजनालाइ पक्राउ गरेको छ ।चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित आज प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले जानकारी दिनुभयो।
बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले गोली चलाउँदा चौधरीको छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए।
मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए।