खेलकुद

एनएसएल फुटबलमा काठमाण्डौको हार, बुटवल लुम्बिनी तेस्रो स्थानमा

By Dhading News

December 10, 2023

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा साविक विजेता काठमाण्डौ रेजर्स फुटबल क्लब बुटवल लुम्बिनी फुटबल क्लबसँग पराजित भएको छ ।

आज दशरथ रङ्गशालमा भएको खेलमा बुटवल लुम्बिनीले काठमाण्डौलाई २–१ गोलले हरायो । उसका स्टेफेन बिनोङ र एरिक विष्टले गोल गरे ।

काठमाण्डौका लागि राजीव लोप्चनले एक गोल फर्काए । जितसँगै बुटवल लुम्बिनी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेल जितेको काठमाण्डौले त्यसपछि दुई खेलमा बराबरी खेलेको थियो । तर चौथो खेलमा उसको अपराजित यात्रा टुङ्गियो ।

यस्तै, आज भएको पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिङ इलामले बराबरी खेलेका छन् । पहिलो हाफमा २–० ले पछि परेको धनगढी दोस्रो हाफमा बराबरी गर्न सफल भयो । बराबरीसँगै इलाम र धनगढीले अङ्क बाँडेका छन् । अपराजित धनगढी चार खेलमा ८ अङ्कसहित शीर्ष स्थानमा छ ।