धादिङ, २८ मंसिर – धार्मिक तथा ऐतिहासिक महत्व बोकेको धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको सल्यानकोटको माई मन्दिरमा यो बर्षको जात्रा लागेको छ ।
हरेक बर्ष मंसिर महिनामा मनाईने सो जात्राको उत्तम साईत दशैंको टीकाको दिन हेरेर तिहारको भाइटिकाको दिन सार्वजनिक गर्ने चलन छ । नेपालको पहाडी भेगमा मनाईने जात्रा मध्ये सबै भन्दा ठुलो जात्राको रुपले परिचित यो जात्रालाई न्वागी जात्राको नाममा समेत चिनिन्छ । यस जात्रालाई माईस्थान जात्रा वा सल्यानवेसी जात्रा पनि भन्ने गरिएको छ । जिल्ला सदरमुकाम धादिङबेशीबाट करिब ३८ किमी सडक दुरीमा सल्यानकोट स्थित त्रिपुरासुन्दरी माईको मन्दिर रहेको छ ।
धादिङको सल्यानकोट र आगिन्चोकमा गरि तीन वटा त्रिपुरा माईको मन्दिर रहेको छ । सल्यानकोटमा रहेको कोटलाई माथिल्लो कोट भनिन्छ भने आगिन्चोकमा रहेको मन्दिरलाई तल्लो कोट भनिन्छ । यस ठाउँ नेपाल एकीकरणको बेला तत्कालीन राजा पृथ्वीनारायण शाह गोर्खाबाट नुवाकोट आक्रमणका लागि निस्किएको ऐतिहासिक तथ्य जोडिएको छ । नुवाकोट आक्रमण जाँदा विजयी भएपछि राजाले भगवतीको मन्दिर स्थापना गरेको किंवदन्ती छ । देवीलाई माथिल्लो कोटबाट आगिन्चोकको तल्लो कोटमा बाजा गाजा सहित डोलीमा लैजाने परम्परा रहेको छ । सल्यानेकाटमा रहेको त्रिपुरासुन्दरी भगवतीलाई बर्षभर विभिन्न ३ वटा मन्दिरमा राखेर पुजा गरिन्छ । सल्यानकोट माईमा विषेश समयमा राखेर पुजा गर्ने प्रचलन नेपालकै अनौठो र विरलै भेटिने प्रचलन रहेको त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समितिले जनाएको छ ।
प्रत्येक बर्ष यस मन्दिरमा लाग्ने मेला भर्नको लागि हजारौ भक्तजन यस मन्दिरमा पुग्ने गरेका छन् । छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँ, मकवानपुर लगायत नेपालका विभिन्न ठाउँबाट मानिसहरु मेला भर्नको लागि आउने गर्दछन । यो बर्ष पनि सयौं भक्तजन मेला भर्न मन्दिरमा पुगेका छन् । मेलाको अवसरमा साँस्कृतिक कार्यक्रम, दोहोरी प्रतियोगिता, १ लाख पुरस्कार राशी रहेको फुटवल प्रतियोगिता समेत आयोजना गर्ने गरिएको छ ।
यो मन्दिरको उत्पती कसरी भयो भन्ने बारेमा आम भक्तजनको चासो रहेको पाईन्छ । श्रीस्वस्थानीमा उल्लेख भए अनुसार यज्ञकुण्डमा हामफालेकी सतिदेवीको मृत शरीर बोकेर हिडेका महादेव भगवान हाल भगवतीको मुल मन्दिर रहेको ठाऊँमा पुग्दा सत्यदेवीको कण्ड्यौलो पतन भएको र सो ठाऊँमा त्रिपुरा सुन्दरी भगवतीको उत्पती रहेको भन्ने किम्बदन्ती पाईन्छ ।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण शाह नुवाकोट आक्रमणको लागि जादाँ यही स्थानमा बास परेको र सपनामा एउटी बालिकाले हातमा खड्गसहित विजयी हुने आशिर्वाद दिए पछि नुवाकोट तथा काठमाडौंको बिजय प्राप्त गरेका थिए भन्ने विश्वास पनि रहि आएको छ ।
प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । अन्य मन्दिर भन्दा यस मन्दिरको बिशेषता निकै भिन्न रहेको पाउन सकिन्छ । भगवतिको मुर्तीलाई एक बर्षमा ३ वटा मन्दिरमा राख्ने परम्परा रहिआएको छ । जस अन्तर्गत कोटमा २ र बेशीमा १ मन्दिर रहेको छ । कोटमा भगवतिको मुल घर र मामा घर रहेको छ भने बेशीमा रहेको मन्दिरलाई भगवतिको माईति घरको रुपमा चिनिन्छ ।
हाल त्रिपुरासुन्दरी गापा वडा नं ५ सल्यानकोट हटियामा रहेको २ वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म र चैते दशैका बेला भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ जुन मन्दिरलाई भगवतीको मामाघरको रूपले चिनिन्छ । कतिपयले त्यसलाई दशैँ घर पनि भन्ने गरेको पाईन्छ । कोटकै थुम्कोमा रहेको मन्दिरलाई भगवतीको मूल घरको रुपमा लिने गरिएको पाईन्छ । यही मुल मन्दिरमा अधिकांश समय भगवतीलाई राखेर पुजा आराधाना गर्ने परम्परा रहि आएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाकै वडा नं ६ आगिन्चोकको हाँसेपसल छेउमा रहेको मन्दिरलाई भगवतीको माइती घरका रुपमा चिनिने गरिएको छ । घरबाट भगवतीलाई माईती झान्ने क्रममानै ठुलो र बिशेषमेला लाग्ने गरेको छ ।
भगवतीको मूर्ति रहेको विश्वास गरिएको बाकसलाई राना थरका पुजारीले पिँठ्युमा बोकेर बाजा गाजा, सहित बिभिन्न झजन गाउदै, हातमा नित्य पुजाको लागि चहिने सामाग्री, खुडा, खुकुरी, त्रिसुल बोकेर करिब तीन घन्टाको पैदल दूरी पार गर्दै सल्यानबेंसी (आगिन्चोक)को मन्दिरमा ल्याउने गरिन्छ ।
माई सवारीको नामले चिनिने सो समयमा बाटोको दायाँ बायाँ हजारौ भक्तजनहरु भगवतिको दर्शन पाउनको लागि जयजयकार गर्दै बस्ने गर्दछन् । मूर्ति रहेको बाकसलाइ तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले छुन नपाउने अनौठो प्रचलन रहिआएको छ । बाकस भित्र रहेको भनिएको मुर्तिको आकार कस्तो वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म देख्न पाएका छैनन् । बाकस खोलेर हेर्दा अनिष्ट हुन्छ भन्ने परम्परा पनि रहि आएको पाईन्छ । भगवतीलाई बेसीको मन्दिरमा ४ महिनाजति राखेर पुजा गरिन्छ । त्यस पछि फागुनको अन्तिमतिर वा चैते दशैँ भन्दा अगाडि विशेष साईत हेरेर फेरि कोटकै मुल मन्दिरमा लगेर भित्र्याउने प्रचलन रहिआएको छ । देवीलाई कोटमा लैजाने क्रममा पनि सोही प्रक्रियाद्धारा लैजाने गरिएको स्थानीयहरु बताउछन् ।
देवीको दर्शनको लागि बेशीमा रहेको मन्दिरमा जाने र भाकल चढाउने भक्तजनको संख्या धेरै हुने गरेको पाईन्छ । भौगोलिक रुपमा पनि सुगम र यातायातको सुविधा पुगेको हुनाले त्यहाँ रहेको मन्दिरमा पुग्ने भक्तजन बढी हुने गर्दछन ।