खेलकुद

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना भ्यालेन्सियासँग बराबरी

By Dhading News

December 17, 2023

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको छ । शनिबार राति बार्सिलोनाले घरेलु टोली भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ५५ औं मिनेटमा जोआओ फिलिक्सले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । राफिन्हाको पासमा फिलिक्सले गोल गरेका हुन् ।

घरेलु टोलीका ह्युगो गुइलामोनले टप कर्नरबाट ७० औं मिनेटमा बराबरी गोल फर्काएका थिए । बार्सिलोना पछिल्लो तीन खेलमा जित विहिन भएको छ ।

लिगमा जिरोनासँग ४–२ ले पराजित बनेको बार्सिलोना च्याम्पियन्स लिगमा रोयल एन्टवर्पसँगको खेल ३–२ ले गुमाएको थियो ।

बराबरीको नतिजाले बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । तर लिग लिडर जिरोनासँग ६ अंकले पछि परेको छ ।

खेलमा बार्सिलोनाले गोलका थुप्रै अवसर सिर्जना गरेको थियो । तर भ्यालेन्सियाका किपर जियार्गी ममार्दशविलीले उत्कृष्ट फर्म प्रर्दशन गर्दै बार्सिलोनालाई निराश पारे ।

बार्सिलोना ३५ अंक सहित तेस्रो स्थानमा छ । भ्यालेन्सिया २० अंक सहित तालिकाको दशौं स्थानमा छ ।