धादिङ, १२ पुस । अति सिमान्तकृत जातीमा सूचीकृत चेपाङ समुदायको उत्थानका लागि धादिङ, चितवन र मकवानपुर जिल्लाका छ पालिकामा चिउरी र चमेरो संरक्षण कार्यक्रम लागू गरिने भएको छ ।
चेपाङ समुदायको बसोबास रहेको धादिङको गजुरी र बेनिघाट रोराङ, चितवनको राप्ती र कालिका नगरपालिकाका साथै इच्छाकामना गाउँपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिकामा वागमती प्रदेश सरकारले यो कार्यक्रम लागू गर्न लागेको हो ।चिउरी, चमेरा र चेपाङको सम्बन्ध विशेष रहेको छ । सांस्कृतिक रूपमा पनि यी तीन तत्त्वहरू एकअर्काका परिपूरक हुन् । धादिङ, मकवानपुर ,चितवन र गोरखामा चेपाङहरूको उल्लेख्य बसोबास छ ।
वागमती प्रदेश सरकारले यस वर्ष चिउरी र चमेरो संरक्षणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो कार्यक्रम आर्थिक तथा सामाजिकरूपमा विपन्न तथा पिछडिएका सीमान्तकृत चेपाङ समुदायको जीविकोपार्जनका साथै आर्थिक तथा सामाजिक क्षेत्रमा जीवनस्तर सुधार गर्नका लागि खर्च गरिने भएको छ ।
कार्यक्रमले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रमा सशक्तीकरण गर्नुका साथै परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरोबीचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सहयोग पुर्याउने विश्वास लिइएको छ ।
कार्यक्रम स्थानीय तहको २० प्रतिशत साझेदारीमा लागू गरिने छ । यस कार्यक्रममा चिउरीको नर्सरी स्थापना, वृक्षरोपण, सचेतनामूलक कार्यक्रम, मौरीपालन व्यवसायको प्रवद्र्धन, चिउरीको मह र दानाको बजारीकरण मुख्य गतिविधिका रुपमा रहने भएको छ । चेपाङ समुदायको दिगो अर्थोपार्जनको लागि यो कार्यक्रम महत्वपूर्ण सावित हुने नेपाल चेपाङ संघका पूर्व केन्द्रिय सचिव तिलक चेपाङको भनाई छ ।
चिउरी अत्यन्त गुणकारी र लाभदायक बहुउपयोगी वनस्पति हो । यसको पात देखि बिया फल, फूल, रुख सबै उपयोगी हुनाले यसलाई “कल्पवृक्ष” समेत भनिन्छ ।
यसको फूल माहुरी, चराचुरुंगी र पुतलीको प्रमुख गन्तब्य हो । फूलमा भएको रस अत्यन्त गुलियो हुनेहुँदा मौरीलाई मात्र होइन यसको फूलबाट रस झारेर मानिसले पनि सिधै खाने अनि रोटीमा पनि प्रयोग गर्ने गरिन्छ । यसको रसमा गुलियोपना चिनीको मात्रा ४०% भन्दा अधिक हुन्छ । प्रकृतिमा रहेका अन्य बिरुवाको तुलनामा यसको फूलको रस अत्यन्त गुलियो हुने र लामो समयसम्म रहने हुनाले मौरी पालक किसानले यसको फूल फुल्ने समयमा ५–६ पटक सम्म मह काढ्ने गर्दछन् । केहि स्थानमा यसको रसलाइ खुदो पनि भन्दछन र रसबाट क्यान्डी (चकलेट) पनि बनाइन्छ ।
फलः आकर्षक, पोषिलो र गुलियो हुन्छ । यो प्राय टिपेर सिधै चुसेर खाइन्छ । कतिपय स्थानमा फल निचोरेर जुसको रुपमा पनि प्रयोग गरिन्छ ।
चिउरीको फलभित्र बियाँ हुन्छ, जसलाई बिजुला पनि भनिन्छ। एउटा रूखमा औसतमा ६५ केजीभन्दा बढी चिउरी फल्छ।
बियाँबाट घ्यू (बोलीचालीमा घ्यू भनिए पनि वास्तवमा यो तेल हो) बनाएर प्रयोग गरिन्छ। चिउरीको बियाँबाट कुल तौलको ४० प्रतिशतसम्म तेल निस्कन्छ। यसको घ्यू पूजाआजामा मन्दिर, गुम्बामा अधिक प्रयोग हुने गरेको छ। घरायसी उपयोगका लागि तरकारीमा भुटनका रूपमा तथा सेलरोटी पकाउन पनि प्रयोग गर्ने गरिएको छ।
चमेरो स्वस्थ्य वातावरणको सूचक हो र वातावरण संरक्षणको हिसाबले एक महत्वपूर्ण प्रजाति हो । फलाहारी चमेरो वनस्पतिमा परागसेचनको लागि एक उत्कृष्ट माध्यम हो । चमेरोले चिउरी, सिमल, टोटला, केरा, मेवा, आँप, लिची, अम्बा, अमला, पीपल, कदम, निम, सजिवन, जामुन लगायत करीब ७०० प्रजातिका वनस्पतिमा परागसेचन गर्दछ । चमेराले परागसेचन गराउने मात्र होइन, वनस्पतिलाई एक ठाउँबाट अर्को ठाउँमा फैलाउन मदत पनि गर्छ । चमेराले सिमल, खस्रेटो, रुद्राक्ष, कफी, बर, पीपल, अम्बा, डुम्री, समीका फल टाढा—टाढा लगेर खान्छ र त्यसको विउ झार्दछ र तिनका बिरुवाहरु उम्रन्छन् । त्यसैगरी बिष्टाबाट विभिन्न ठाउँमा तिनका बिरुवाहरु उम्रन्छन् । मांसाहारी चमेरोले हजारौको शंख्यामा लामखुट्टे, भुसुना लगायत अन्य हानिकारक किराहरु खाइदिएर मानव स्वास्थ्यमा अतुलनिय योगदान पुर्याएको छ । चमेरोको झुण्डले अन्नबाली खाईदिने वा नोक्शान गर्ने किरा आदिलाई खाएर अन्न जोगाउन पनि मदत पुर्याउदछ । चमेरोको बिष्टा एक उत्कृष्ट प्रांगारिक मल हो । यसको विष्टाको सहि सदुपयोगबाट किसानले प्रसस्त लाभ पाउन सक्दछन् ।