कभर फोटो

प्रतीक कम्प्युटर गोदाममा आगलागी, १ करोड मूल्य बराबरका उपकरण नष्ट

By धादिङ न्यूज

January 04, 2024

धादिङ- धादिङकाे सिद्धलेक गाउँपालिकावडा नम्बर १ बैरेनीमा  रहेको  कम्प्युटर गोदाममा आगलागी भएको छ । स्थानीय तिलक सिम्खडाले सञ्चालन गर्दै आएको कम्प्युटर गोदाममा बुधवार बिहान करिब १ बजे आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले दमकल लिएर घटनास्थलमा प्रहरी टाेली पुग्दा सबै कम्प्युटर नष्ट भइसकेको बताए । “हामीलाई राति फोन आएको थियो,” एसपी मिश्रले भने, “हामी जाँदा सबै जलिसकेको अवस्था थियो । यति कम्प्युटर क्षति भए भन्न सकिने अवस्था छैन ।”

पीडित तिलक सिम्खडाले विद्युत शर्ट सर्किट हुँदा आगलागी भएको बताए । २० वर्षदेखि सिम्खडाले धादिङबेसीमा प्रतीक कम्प्युटर पसल सञ्चालन गर्दै आएका थिए ।

“मैले कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा लगायतका उपकरण बिक्री गर्दै आएको २० वर्ष भयो,” उनले भने, “हिजो एक्कासि विद्युत शर्ट हुँदा आगलागी भएर क्षति भयो ।”उनका अनुसार आगलागीबाट ९० लाखदेखि एक करोड हारहारीका कम्प्युटर जलेर नष्ट भएको छ ।

सिम्खडा धादिङ उद्योग बाणिज्य संघका महासचिव समेत हुन ।