मुख्य समाचार

आज पृथ्वी जयन्ती

By Dhading News

January 12, 2024

काठमाडौं । आज पुस २७ गते, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।

गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट वि.सं. १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

नेपाल ५२ राज्यमा विभाजित भएको समय वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । राजा भएपछि उनले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरे । त्यसपछिका उनका उत्तराधिकारीहरुले पश्चिमकमा काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका हुन् ।

पृथ्वीनारायण शाहले वि.सं १८०१ मा नुवाकोट र वि.सं १८२६ सालमा काठमाडौं उपत्यकामा विजय पाप्त गरेका हुन् । यसपछि उनले पूर्वको चौदण्डी, विजयपुर लगायतका राज्यहरु पनि जित्न सफल भए ।

उनको ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा सान्दर्भिक छन् भने भौगोलिक अवस्थालाई बुझाउन उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने एतिहासिक सफलता पाए पनि आलोचकहरुले उनलाई एकल जातिवादको पक्षपोषक भएको आरोप लगाउने गरेका छन् । उनको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।

विगत केही वर्ष यता विवाद हुँदै आएपनि यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती मनाउँदै छन् ।