समाचार

राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त

By Dhading News

January 15, 2024

काठमाडौ । आज माघ १ गते माघी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिए हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।