मुख्य समाचार

प्रधानमन्त्रीले देश विकास गर्न नसक्ने हो भने राजीनामा दिनुपर्छ: प्रेम सुवाल

By Dhading News

January 16, 2024

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विकास गर्न नसक्ने हो भने राजीनामा दिनुपर्ने बताउनु भएको छ ।

२६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्रीले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरूको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपु¥याएको बताएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिनुभयो।

उहाँले अघिल्लो सरकारहरूले गरेको भएपनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताउनुभयो। राणा शासन र पञ्चायत विरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताउनुभयो ।

जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न उहाँले चेतावनी दिनुभयो । नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नरहेको जिकिर गर्नुभयो । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई नर्क बनाएको उहाँको आरोप छ ।