EAST LONDON, SOUTH AFRICA - JANUARY 21: Players of Nepal huddle during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between New Zealand and Nepal at Buffalo Park on January 21, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

खेलकुद

अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपाल आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा

By Dhading News

January 27, 2024

काठमाडौं । अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । हिजो भएको खेलमा बलिङमा आकाश चन्द र ब्याटिङमा देव खनाल कप्तानी इनिङ खेलेपछि अफगानिस्तानलाई हराउँदै दुई अंक जोडेपछि नेपालले समूह ‘डी’ को तेस्रो स्थानमा पक्का गर्दै सुपर सिक्स यात्रा तय गरेको हो ।

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालले स्कोरबोर्डमा १४४ रन जोड्दा आकाश चन्दलाई नवौँ विकेटको रुपमा गुमाएको थियो । यसपछि नेपाललाई जितका लागि दुई रन आवश्यक हुँदा अफगानिस्तानलाई एक विकेटमात्र पर्याप्त थियो ।

अफगानिस्तानका बलर अरब गुलले ४५औँ ओभरको पहिलो बल वाइड फ्याकेपछि खेल ‘टाई’ भएको थियो । जितका लागि एक रन आवश्यक हुँदा सोही ओभरको चौथो बलमा सुवास भण्डारीले चौका प्रहार गर्दै नेपालको रोमाञ्चक जित निश्चित गरे ।

नेपालको जितमा कप्तान देवले धैर्यपूर्ण प्रदर्शन गर्दै अर्धशतक बनाए । क्रिजको एक एन्डबाट लगातार विकेट जाँदा सुझबुझपूर्ण ब्याटिङ गरेका देवले ५८ रन बनाउँदै नेपाललाई जितसम्म डोहोर्याए । १५–२ को कठिन अवस्थामा ब्याटिङका लागि आएका देवले ८९ बलमा सात चौका प्रहार गरे । उनी आउट हुँदा नेपाल १२७–७ को अवस्थाामा थियो ।

देवबाहेक, नेपाली टिमको खातामा दीपक बोहराले ४२ बलमा चार चौकासहित २७ रन थपे । आकाश त्रिपाठीले १६ र अर्जुन कुमालले १० रन थपे । यसबाहेक, नेपालका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस हारेर बलिङमा आएको नेपालबाट आकाश चन्दले घातक बलिङ गरेपछि अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमै समेटिएको थियो ।

अफगानिस्तानलाई कमजोर योगफलमा रोक्न नेपालका आकाशले पाँच विकेट लिएका थिए । उत्कृष्ट बलिङ गरेका आकाशले आठ ओभरमा ३४ रनमात्र खर्चिए । उनले खेलको दोस्रो, छैटौँ, आठौँ, १०औँ र १२औँ ओभरमा नेपाललाई सफलता दिलाएका थिए ।

आकाशबाहेक, दीपेश कँडेलले दुई विकेट लिए । यस्तै, गुल्सनकुमार झा, सुवास भण्डारी र तिलक भण्डारीले समान एक विकेट हात पारे ।

अफगानिस्तानका अल्लाह मोहम्मद घजानफरले ३७ रन बनाए । कप्तान नासिर खान मरुफखिलले ३१ र र फरिदुन दावुदजाईले २९ रन थपे । ८– को दयनीय अवस्थाबाट यी दुईले नवौँ विकेटका लागि ५५ रनको साझेदारी गर्दै अफगानिस्तानलाई सम्मानजनक योगफलसम्म डोहोर्‍याएका थिए ।

नेपालविरुद्ध अफगानिस्तानका चार ब्याटरले रनको खातासमेत खोल्न सकेनन् ।

आजको जितसँगै नेपालले सुपर सिक्सको समूह–१ मा स्थान पक्का गरेको छ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुने छ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

अब सुपर सिक्समा नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने छ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउने छ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

यू–१९ विश्वकपको चार समूहबाट कुल १२ टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । जसलाई प्रत्येक समूहमा ६ टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।